काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको प्रष्ट पारेका छन् । 

आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताए । 

उनले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिने प्रष्ट पार्दै उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न नसकिने बताए ।  

प्रधानमन्त्री दाहालले कतिपयले यो सरकारका राम्रा काम नदेखेको तर ४ महिनामा निकै राम्रा काम भएका दावी गरे । लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको उल्लेख गर्दै विदेशी मुद्राको सञ्चिति उत्साहवद्र्धक रूपमा बढेको बताए । 

भेटमा ६ वटा किसान संगठन आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।