काठमाडौंः सरकारका दुई वरिष्ठ मन्त्रीहरुले मुलुकको आर्थिक अवस्था नाजुक भएको बताएका छन् । उनीहरुले आर्थिक अवस्था सहज नहुँदा त्यस्को असर सबैतिर पर्ने सम्भावना बढेको पनि प्रष्ट पारेका छन् । 

आइतबार पेशागत महासंघ नेपालले आयोजना गरेको आगामी बजेटमा पेशाकर्मीहरुको सवाल विषयक कार्यक्रममालाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुषालले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको तर कृषिमा लगानी गर्ने विषयमा सरकार कञ्जुस भएको बताए । उनले यसपटक कृषिको पनि बजेट काटिएको चर्चा गर्दै देशको आर्थिक अवस्था कमजोर बन्दा त्यस्को असर कृषिमा पनि परेको बताए । 

Beduram Bhusal

उनले भने ‘ लगानी गर्ने कुरामा सरकार कञ्जुस छ, कृषि क्षेत्रलाई अगाडि वढाउन सरकारको चासो दिएको छैन  । कृषिको वजेट काटेको छ । कृषि शिक्षा फैलाउन जरुरी छ । कृषिको महत्व मात्र सिकायौ भने मानिस वाहिर जादैन । दुबई कतारको ४५ डिग्री तापक्रममा नेपाली युवाले भेडा चराउछन् । किन नेपालमा कृषि गर्न चाहदैनन् । कोरियामा कृषि गर्न चाहनेले नेपालमा किन चाहदैनन । ’ 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले अहिले बजेट निर्माण चटारो बढेपनि बजेट मिलाउन समस्या भएको बताए । उनले देश आर्थिक संकटमा पर्दा त्यस्को मार बजेटमा पनि परेको र बजेटमा असर पर्दा त्यस्को प्रभाव कार्यक्रममा परेको बताए । 

मन्त्री ज्वालाले भने ‘ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पहिला १ सय ६७ अर्ब थियो तर अहिले घटेर १ सय १३ अर्बमा आएको छ । देश ओभरअल आर्थिक संकटमा छ । बजेट अहिले गरीबको खाना जस्तो भएको छ, साँझ खाए विहान के खाने जस्तो अवस्था छ । ’ 

यसपटक देखिएको आर्थिक संकटले धेरै क्षेत्रमा मिलाउन सरकारलाई समस्या परेको पनि मन्त्रीद्वय भुषाल र ज्वालाको स्वीकारोक्ति छ । नेपाल न्युज बैंक