काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रबाट दिइने मध्ये कम्तीमा दुई प्रतिशत सम्मान तथा पुरस्कर मजदुरलाई प्रदान गरिने बताएका छन् । 

विश्व श्रमिक दिवासको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षबाटै राष्ट्रबाट दिइने कम्तीमा दुई प्रतिशत सम्मान तथा पुरस्कार श्रमिकलाई प्रदान गर्न नीति बनाइने बताएका हुन् । 

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुभकामना सन्देशमार्फत उनले सबै औद्योगिक प्रतिष्ठान तथा कार्यालयमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कडाईका साथ लागू गरिने बताएका छन् । 

विज्ञप्तीमा उनले भनेका छन्,‘राष्ट्रका उच्च स्थानबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु । यसैगरि, सम्पूर्ण मजदुरहरुको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।’’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।’ 

Pm Press Relese

त्यस्तै, जोखिमपूर्ण क्षेत्रमा संलग्न अदक्ष तथा अप्रमाणित सबै मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने र यसका लागि पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न सिकाइने विज्ञप्तीमा उल्लेख छ । श्रमिकका लागि सुरक्षासहितको उपयुक्त पोशाक दिन पनि औद्योगिक प्रतिष्ठानलाई प्रोत्साहन गरिने विज्ञप्तीमा उल्लेख छ । 

उनले नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न अनवरतरुपमा लागिरहने प्रतिवद्धता पनि गरेका छन् ।