काठमााडौंः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने काममा संलग्न रहेको आरोपमा प्रहरीले वहालवाला सचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

पूर्वगृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।  अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा रहेका पाण्डेलाई बुधबार र तत्कालिन गृहमन्त्रीका सुरक्षा  सल्लाहकार डा.ईन्द्रजित राईलाई हिजो प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अदालतबाट तीन दिनको अनुमति लिएर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए । 

‘डा.ईन्द्रजित राईलाई र आज टेक नारायण पाण्डे पक्राउ पर्नु भएको छ । उहाँहरुमाथि अदालतबाट म्याद लिएर हाम्रो अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको छ।’ उनले भने ‘संगठित र ठगी अपराधमा अनुसन्धान अगाडि बढिसकेको छ । पीडित र पीडकहरु को को हुन भन्ने कुरा अनुसन्धानले पछि देखाउँछ ।’

यसअघि, प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ र त्यसको तीन दिनपछि मोरङका सागर राईलाई पक्राउ गरेको थियो ।


उनीहरुले प्रहरी समक्ष बयानका क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन र सचिवालयको मिलेमतो मै नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलासा गरेका थिए । 

त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. राई पनि संलग्न देखिएको भन्दै प्रहरीले हिजो मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । 

यो घटनामा अहिले सम्म २० जनाको जायरी परेको प्रवक्ता रिजालले जानकारी दिए । 

उनले भने ‘अहिले सम्म १०० जना भन्दा बढी पीडित छन् । २३ करोड २५ लाख रकम ठगि भएको देखाएको छ । पीडितहरु थपिदै जाने क्रममा रकम पनि बढ्ने छ । को बाट कति रकम भन्ने चाहिँ अहिले खुलेको छैन् । ’

यसअघि शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । २९ असार २०७६ मा पन्थी नेतृत्वको कार्यदलले तयार पारेको सुरुको प्रतिवेदनमा प्रमाणीकरणमा छुटेका ४२९ जनालाई परिचय पत्र दिन सिफारिस गरिएको थियो । 

पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।