काठमाडौंः सत्ता गठबन्धनले आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन छलफल थालेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बजेट निर्माणबारे छलफल सुरु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘२४ गतेपछिको संसदको अधिवेशनमा के के कुराहरु गर्ने भन्ने बारेमा छलफल भयो । जस्तो उदाहरणका लागि सबैभन्दा पहिला बजेटका सिद्धान्त र प्राथमिकताहरु ल्याउनु पर्छ । जसलाई हामीले प्रि बजेट छलफल भन्छौ । बजेट र कार्यक्रममा बारेमा एक रुपमा ल्याउनु प¥र्यो नी त । सबै राजनीतिक दलहरुका बीचमा ।’
त्यस्तै उनले सरकारमा सहभागि सबै दलका एजेण्डा समेटिने गरि बजेटको प्राथमिकता र सिद्धान्त तय गर्न छलफल सुरु भएको बताए । ‘बजेटको प्राथमिकता र सिद्धान्त तोक्नका लागि सरकारले आधारपत्र तयार गर्छ। सरकारको नीति तथा कार्यक्रममा पनि त्यसरी नै गर्ने सहमति भएको छ।’ उनले भने ‘आर्थिक प्रतिकुलतालाई मध्यनजर गरेर डेलिभरीमा केन्द्रित बजेट ल्याउनुपर्छ भन्ने सहमति भएको छ।’
त्यस्तै उनले बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा पनि छलफल भएको बताए । उनले भने ‘त्यस विषयमा प्रधानमन्त्रीले छलफल गरिरहनु भएको छ । उहाँले टुङ्ग्याउँदा राम्रो होला । ’
यस्तै, अहिले स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धन फेरबदल हुन नसक्ने प्रष्टपार्दै उनले भने,
‘गठबन्धन र सरकारसँग स्पष्ट बहुमत छ । सरकारसँग स्पष्ट बहुमत छ । सरकारसंग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना छैन । त्यसो भएकाले अर्को गठबन्धन बन्ने र यो भत्कने सम्भावना छैन ।’ गठबन्धनको स्थायित्वको विषयमा शीर्ष नेताहरुबीच प्रष्ट धारणा रहेको उनको जिकिर छ ।