काठमाडौंः एमाले उपाध्यक्ष एवंम पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका छन् । 

बिहीवार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै थापाले बिषय संवेदनशील भएको हुँदा घटनाको अनुसन्धानमा आफु बाधक नबन्ने बताएका हुन् । गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता नगरेको र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनको बिज्ञप्तीमा भनेका छन् । उनले पटक–पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको दाबी गरेका छन् । 

उनले बिज्ञप्तीमा भनेका छन्,‘संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सधम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा प्रहरीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो । 

प्रहरीले पूर्वउप्रधानमन्दी रायमाझीसहित इद्रजित राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।