काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पोलहरुमा तारको अवस्था सुधारको लागि आवश्यक कानून बनाउन आग्रह गरेको पनि कसैले चासो नदेखाएको गुनासो गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर अव्यवस्थित तारले भौतिकरुपमा शहरलाई अव्यवस्थित बनाउनुको साथै आगलागीको जोखिम पनि बढाउने हुनाले यसलाई व्यवस्थित गर्नु आवश्यक भएको बताए । 

उनले भने, शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । 

मेयर बालेनले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न सूचना जारी गर्दा पनि इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाएर यस्तो कार्य नगर्न आदेश जारी गरेको भन्दै गुनासो गरेको छन् । 

उनले भने, त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो । 

व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडांै महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको पनि पनि मेयर साहले उल्लेख गरेका छन् । 

उनले समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने भन्दै शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि महानगर क्रियाशील रहेको पनि उल्लेख गरेका छन् ।