काठमाडौंः नेपाली कांग्रेसले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकारलाई कठोर बन्न सुझाव दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकार पछि पर्न नहुने निष्कर्ष निकालेको हो ।
वैठकपछि सञ्चारकर्मीसंग प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश लैजाने भनेर गरिएको ठगीमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने पक्षमा कांग्रेस अडिग रहेको बताए ।
मुलुकका लागि यो घटना जघन्य अपराध भएको उल्लेख गर्दै उनले यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि कम हुने बताए ।
शरणार्थी प्रकरणमा जो संलग्न भएपनि उनीहरुलाई सजायको दायरमा ल्याउनु पर्ने भन्दै प्रवक्ता महतले कुनै पार्टी विशेषमा भएको आधारमा उन्मुक्ति पाउन नहुने बताए ।
डा. रिजाल सदस्यमा नियुक्त
यसैबीच सभापति देउवाले नेता डाक्टर मीनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।
काँग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको हो ।