काठमाडौंः काठमाडौको फोहर व्यवस्थापन गर्ने क्रममा भएको सम्झौता कार्यन्वयन नभएको भन्दै नुवाकोटस्थित तीन स्थानीय तहले संयुक्त पत्रकार सम्मेलन आायोजना गर्दैछन् । 

धुनीबेँसी र बेलकोट गढी नगरपालिका तथा कनकी गाउँपालिकाले आज(शनिवार) बिहान ११ बजे सिसडोलमा पत्रकार सम्मेलन गर्दैछन् । सम्झौता भएको दश महिनामा सरकारले माग पुरा नभएको हुँदा ध्यानाकर्षणका लागि पत्रकार सम्मेलन आयोजना गरिएको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले  जानकारी दिए ।

उनले भने,‘काठमाडौंको फोहर बन्चरे डाँडामा डम्पिङ हुँदै आएको छ । दश महिना अघि सरकारसँग हाम्रो विभिन्न बुँदामा सहभाति भएको थियो । तर, त्यस मध्ये कुनै पनि सहमति कार्यान्वयनमा आएनन् । त्यसो हुँदा सरकारको ध्यानाकर्षण गराउन हामीले पत्रकार सम्मेलन गर्न लागेका हौं ।’

काठमाडौंको फोहर दश महिनाएता बन्चरे डाँडामा ब्यवस्थापन हँुदै आएको छ । त्यसअघि फोहर सिसडोलमा ब्यवस्थापन हुँदै आएको थियो । स्थानीयले रोक लगाएपछि महिना दिनसम्म काठमाडौंको फोहर उठ्न सकेको थिएन । त्यसक्रममा स्थानीयले सरकारसँग सडक कालोपत्रे गर्ने, फोहरबाट बगेका लिचड खोलामा नमिसाउँने, दुगन्र्ध नियन्त्रण गर्ने, स्थानीयका लागि रोजगार सिर्जना गर्ने, प्रभावित क्षेत्रका भौतिक संरचना निर्माण गर्ने लगायतका सम्झौता गरेका थिए । त्यसमध्ये प्रभावित कुनै पनि काम नभएको र फोहरबाट बगेको लिचड सिधै खोला मिसाउने गरिएको धुनीबेसी नगरपालिकाका मेयर आचार्यले बताए । 

उनले भने,‘दश महिना अघि सरकारसँग विभिन्न बुँदामा सम्झौता भएको थियो । उक्त वुँदा मध्ये बलाजु–तीनपिप्ले सडक कलोपत्रे बाहेक अन्य कुनै पनि वुँदा कार्यन्वयनमा आएका छैनन् । फोहरबाट बगेको लिचड पोखरी बनेर जमेको छ । लिचड सिधै खोलामा मिसाउने गरिएको छ । उक्त जसले गाउँभरी दुर्गन्ध फैलाएको छ । बन्चरे डाँडासम्मको सडक पनि पिच भएको छैन । फोहरबाट दुर्गन्ध फैलिने क्रम उस्तै छ । यही बिषयमा हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सम्झौता भएको दश महिना बितिसक्दा पनि कार्यन्वयनमा नभएको भन्दै सिसडोलका स्थानीयले फोहर पुनः रोक्ने चेतावनी दिँदै आएका छन् । धुनीबेसी नगरपालिकाका अध्यक्ष आचार्यले माग पुरा नभए अप्रिण निर्णय लिन बाध्य हुनुपर्ने बताए । 

उनले भने,‘अहिले हामी पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । माग पुरा भएन भने पुनः अप्रिय निर्णय लिन बाध्य हुनेछौं । काठमाडौंको फोहर पुनः रोकिन सक्छ ।’