काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै भएको भन्दै सिङगै फिल्म देखाउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट नदिने दृढता व्यक्त गरे । 

उनले भने ‘ मजदुरहरुको महाधिवेशनमा मैले केही दिन अगाडि भनेको थिए ।  अब भ्रष्टाचारीहरुको फाईल खुल्छ कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन् भनेर । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुवात मात्र हो ट्रेलरमात्र हो । हेदै जानु सिङगै फिल्म देखिन्छ ।’


उनले भ्रष्टाचारका फाइलहरु खोल्दा घेराबन्दी र दबाब आएपनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताए ।

उनले भने, ‘त्यसपछि पक्कै पनि ठूलो घेराबन्दी होलान, दबाब धम्की होलान् । धेरै चिज हुनसक्छ यो बीचमा । तर हाम्रो उत्पीडित जनसमुदाय ,श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी धम्कीको पनि सामना गरिने छ ।’

उनले संस्थागत भ्रष्टाचारका कारणले नै देशमा आर्थिक संकटको स्थिति आएको बताए ।

अब माओवादी पार्टी एक चोटी फेरि गर्जियो भने ३२ सिटबाट बढेर बहुमत सिटमा पुग्ने हुनाले नेपाल कब्जा गर्न सजिलो हुने बताए । 

उनले भने ‘अहिले पनि एक थरी मान्छेले सपना देखेको होला । माओवादी अहिले कमजोर भएको छ । ३२ सिटे । हाम्रो नाम अहिले यस्तो भएको छ । ३२ सिटे । अब हामी एक चोटी फेरी गर्जियौं भने ३२ सिटबाट बढेर बहुमत सिटमा पुग्छ र नेपाल कब्जा गर्छ ।’