काठमाडौंः अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले विकास निर्माणलाई सधैं प्राथमिकता दिँदै आएको बताएका छन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका नाम्सापुराणस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रममा उनले कांग्रेस सदैव जनताको पक्षमा रहेको बताए ।
उनले कांग्रेस जहिलेसम्म सरकारमा हुन्छ, त्यसबेलासम्म जनताको पीरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए ।
उनले राजस्वबाट प्राप्त हुने आम्दानी देशैभरिको विकास निर्माणको लागि प्रयाप्त नभएपनि सम्भव भएसम्मको काम गरेर देखाउने बताए ।
दुप्चेश्वर गाउँपालिकाको समस्या जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण, बालबालिकालाई स्कुल जाँदा आउँदा आइपर्ने समस्यालाई ध्यान दिएर सरकारले पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको बताए ।
उनले बाटोसँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुद र विकासका आवश्यकता भएको भन्दै यी आवश्यकताहरु बजेटले भ्याएसम्म काम गर्दै जाने दृढता व्यक्त गरे ।
अर्थमन्त्री महतले रोजगारीको आवश्यकता, हरेक घर परिवारको आम्दानी श्रोत सुनिश्चित होस् भन्ने जनताको आकांक्षालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए । उनले सरकारको उद्देश्य जनताको सेवा मात्र भएको उल्लेख गर्दै जनताको आवश्यकता र आकांक्षाका अगाडि व्यक्तिगत आकांक्षा र आवश्यकता गौण रहने पनि बताए ।
उनले पद्म सम्भवले १२ सय वर्ष अगाडि तपस्या गरेर तिब्बतमा बुद्ध धर्म फैलाएका भन्दै उनले सिकाएका पाठलाई अनुशरण गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।