काठमाडौंः जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण एकप्रकारको राष्ट्रघात र दशेद्रोह भएको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले कानूनी राज्य, विधिको शासन लागू गर्ने जिम्मा लिएर नेतृत्वमा बसेकाहरु नै यो प्रकरणमा संलग्न भएपछि राज्यसत्ताको विश्वसनियतामाथि नै प्रश्न उठेको बताए । 

उनले भने, ‘यो एकप्रकारको राष्ट्रघात र देशद्रोह हो । यो राज्यसत्ताको विश्वसनियतामाथिको प्रश्न हो । नेपाली समाजमा कानूनी राज्य, विधिको शासन लागू गर्ने जिम्मा लिएर बसेका नेतृत्वहरु नै यो प्रकरणमा संलग्न भएपछि नेपाली राज्यसत्तालाई कुन दृष्टिले हेर्ने भन्ने कुरा छ । यो भ्रष्टाचारमात्रै होईन । यो महाअपराध हो । यसलाई छुट दिनुहुँदैन् ।’

उनले भ्रष्टाचारलाई निर्मुलीकरण गर्ने भन्नेबारे ठोस पहलकदमी नभएको कारण नेपाली समाज राजनीतिक नेतृत्वप्रति आक्रोशित भएको भन्दै यसको कारणले राजनीतिक व्यवस्था नै खतरामा पर्छ कि भन्ने चिन्ता लागेको बताए । 

नेता यादवले यस प्रकरणमा दोषीलाई बचाउन जो लाग्छ उसलाई दुनियाँको कुनै शक्तिले बचाउन नसक्ने भन्दै कुनै दलबाट पनि यस्तो प्रकारको काम भयो भने दल नै समाप्त हुने चेतावनी पनि दिएका छन् । 

उनले भने, ‘मलाई लाग्छ अब यो प्रकरणमा दोषीलाई बचाउन जो लाग्छ, उसलाई दुनियाँको कुनै शक्तिले बचाउन सक्दैन् । अब नेपाली समाज जागिसकेको छ । जनता जागिसकेको अवस्था छ । प्रभावशाली व्यक्ति वा नेतृत्व नै किन नहोस, यदि यो वा त्यो नाममा आफ्नो मान्छे, आफ्नो पार्टी अनि नजिकको मान्छे भनेर बचाउन खोजियो भने र कुनै पार्टी लाग्यो भने त्यो पार्टी नै सकिन्छ । नेता लागे नेता पनि सकिन्छन् । ’ 

यादवले भ्रष्टाचारजस्तो रोगलाई समाप्त नपारिकन व्यवस्था बचाउन नसकिने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुशासनको पक्षमा काम गर्ने ऐतिहासिक अवसर भएको पनि बताए ।