काठमाडौंः  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई किन खोज्न नसकेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले उक्त प्रकरणमा मुछिएका रायमाझीलाई खोज्नु सरकारको दायित्व र जिम्मेवारी भएको भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने सरकार नै नभएको बताए । 

उनले भने, ‘म पनि नेपाल सरकारलाई सोध्दैछु– सरकारमा बस्नेहरुले किन खोज्न सक्नुभएन ? उहाँहरुकै निगरानीमा हुनुहुन्छ । सार्वजनिक कार्यक्रममै हुनुहुन्थ्यो भन्ने पनि सुन्यौं । सार्वजनिक कार्यक्रममा पुलिस÷प्रशासन पनि थियो होला । पक्राउ पुर्जी जारी गर्यो भन्ने पनि सुनेको हो, सरकारको दायित्व र जिम्मेवारी यो हुन्छ कि नेपालको क्षेत्रफलभित्र को ? कहाँ छ ? भनेर हेर्ने हो, फरार भन्न मिल्दैन् । सरकारले खोजी गर्न नसक्ने हो भने, त्यो सरकार होईन ।, सरकारले मेरो आँखा पुगेन भन्न मिल्छ र ? एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर क्षेत्रफलभित्र सरकारले सबै ठाउँमा मेरो आँखा पुगेको छ भन्नुपर्छ । सरकारलाई नै प्रश्न छ–टोपबहादुरजी कहाँ हुनुहुन्छ ? हामीले पनि टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो छ कि भनेर खोजी गर्नुपर्ने बेला आएको छ । हाम्रो त नेता नै हो । पार्टीको सचिव हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पु¥याउने भन्दै एमालेको छाता ओढेर कसैले बेईमानी गर्छ भने, त्यसलाई बचाउनुपर्ने आवश्यकत्ता नभएको बताए । 

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ कल्पना धमलाले नागरिकले चाहेको सुशासन सरकारले दिन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री र गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने बताएकी छिन् ।

उनले भनिन ‘नागरिकले चाहेको सुशासन यो सरकारले दिनसक्छ, र दिन्छ भन्ने विश्वस्त बनाउनको निम्ति प्रचण्ड सरकार, प्रधानमन्त्री र गृहमन्त्रीज्यूले नक्कली शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउनुभएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’

नेतृ धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सरकारले अनुसन्धान थाल्दा राजनीतिक हस्तक्षेप भएको भन्दै अब सबै भ्रष्टाचारका फाईल खोल्न पनि आग्रह गरिन् । उनले जुन पार्टीको भएपनि भ्रष्टाचार गर्नेलाई संरक्षण गर्न नहुने भन्दै पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् । 

उनले भनिन् ‘सरकारले केही काम सुरु गर्यो, यहाँ हस्तक्षेप भएको छ । यो नक्कली शरणार्थी प्रकरण तुहिँदैन् । प्रधानमन्त्रीज्यूले म जस्तोसुकै दबाब थेग्न तयार छु भन्नुभएको छ । पार्टीको तर्फबाट म पनि प्रतिबद्धता जनाउन चाहन्छु कि अब सबै भ्रष्टाचारका फाईल खोलिनुपर्छ । जुन पार्टीको भएपनि भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नुहुँदैन् ।’

उनले राजनीतिक संरक्षणकै कारण  भ्रष्टाचार केन्द्रदेखि गाउँसम्म मौलाएको भन्दै नागरिकले दललाई भ्रष्टाचारीको संज्ञा दिन थालेको उनको गुनासो छ ।