काठमाडौंः नेकपा एकीकृत समाजवादीका प्रवक्ता, जगन्ननाथ खतिवडाले राजनीतिक संस्कारसंग समाजलाई जोड्न नसकिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा उनले, कम्युनिष्ट पार्टीले राजनीतिक संस्कारसंग समाजलाई जोड्न नसकेकोले समस्या बढेको टिप्पणी गरेका हुन् ।
उनले राजनीतिक संस्कार छोडेर राजनीतिक दल समाजसंगै नाच्न थालेको बताए । उनले भने ‘ राजनीतिलाई सामाजिकीकरण गर्नुभयो भने राजनीतिक जग बलियो हुन जान्छ। सामाजिकीकरण गर्नुभयो भने संस्कृति बलियो हुदैँ जान्छ । संस्कृति बलियो हुदै गयो भने सत्ता ढलेर फरक पर्दैन संस्कृतिले सत्ता बनाउँने हो ।’
कम्युनिष्ट पार्टी खस्किँदै जानुको कारण पार्टी भित्र आएको सांस्कृतिक विचलन भएको उनको तर्क छ ।
उनले भने ‘ कम्युनिष्टहरुको भोट यो पटकको चुनावमा किन घट्यो ? हाम्रो संस्कृति कमजोर थियो। हिजो सम्म जनवादी कला गीत, संस्कृति, यस्लेगर्दा हामीलाई उर्जा दिइरहेको थियो । गाउँ गाउँबाट उठ बस्तिबाट उठ भनेर हिजोसम्म हामी नाचिरहेका थियौं र गाउँ बस्तीलाई झक्झक्याउने कुरा गरिहेका थियौं हैन् । अब हिजो आज कि लाउँ माया उहि तिर कि लाउ मै तिर भन्ने त्यसैमा नाचिराखेका छौं। अनि संस्कृति नै फरक भएन् ? ’संस्कृति विनाको राजनीति र संस्कृति विनाको अर्थतन्त्र कामै नलाग्ने उनको तर्क छ ।