काठमाडौंः गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने हिंसालाई अन्त्य गर्न सरकारले कुनै कसर नछोड्ने प्रतिवद्धता गरेका छन् ।
आईतबार काठमाडौंमा आयोेजित संयुक्त राष्ट्रसंघ,सुरक्षा परिषद प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यक्रममा गृहमन्त्री श्रेष्ठले महिलामाथि हुने हिंसामा संलग्न व्यक्तिहरुलाई कारवाही गरेरै छाड्ने र पीडितलाई न्याय दिने काम गर्ने बताए ।
उनले भने ‘आजको लोकतान्त्रिक नेपालमा महिलामाथि हुने हिंसालाई अन्त्य गर्न र त्यसप्रकारको कुनै घटना देखा परे त्यस प्रकारको घटनामा संलग्न पीडकलाई कारवाही गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन् । गतकालका हिंसाका घटनालाई पनि त्यतिकै छोडिने छैन् । त्यसको आवश्यक अनुसन्धान र छानविन गरेर पीडितलाई न्याय दिन अगाडि बढ्ने छौं । ’
आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रण, महिला हिंसा अन्त्य र पीडकलाई कारवाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताए ।
गृहमन्त्री श्रेष्ठले हिंसामा परेको सम्पूर्ण महिलाहरुको लागि काम गर्न आफु सदैव तयार भएको बताए । महिलाहरुले राज्य सञ्चालनको हरेक निकायहरुमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनले यो राज्यको लागि ठूलो उपलब्धि भएको बताएका छन् ।