काठमाडौंः नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले, नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहर भए राजनीतिक जीवन परित्याग गर्ने घोषणा गरेका छन् । 

आइतबारबाट सुरु भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई पनि मुछिएको भन्दै यदी आफ्नो संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिने घोषणा गरे । उनले भने ‘कुनै–कुनै सञ्चार माध्यमले मेरो पनि नाम राखेर समाचार प्रकाशित गरेको पढेँ, यदि कहीँ कतैबाट पुष्टि भएर म त्यसमा संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु।’

उनले दोषीलाई लुकाउने माथि कस्तो कारबाही हुन्छ भनेर सभामुख देवराज घिमिरेलाई प्रश्न पनि गरे। ‘जो दोषी छ त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ, सभामुख महोदय?,’ खतिवडाले भने।