काठमाडौंः प्रहरीले लागू औषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सशस्त्र प्रहरीक कैलाली ४३ नं. रिजर्भ गण हेडक्वाटर बनबेहडामा कार्यरत प्रेमसिंह सुनार रहेका छन् । 

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएका प्रहरी टोलीले टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनार भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका थिए । उनीसहित प्रहरीले लम्कीका २६ वर्षीय सागर घिमिरेलाई पनि पक्राउ गरेको छ । उनलाई प्रहरीले खक्रौला नाकाबाट शनिवार दिउँसो पक्राउ परेका थिए ।

सुनार वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागु औषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए । उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।