इटहरीः ४ लाख रुपैयाँ राशी पुरस्कार रहेको सभामुख कप भलिबल प्रतियोगिता यही पुस १९ देखि इटहरीमा हुने भएको छ । आज होटल त्रियुगामा पत्रकार सम्मेलनमार्फत् आयोजकले सो प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा सातै प्रदेशबाट खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३ टिम गरी जम्मा १० टिम प्रतियोगितामा सहभागी हुने समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने टिमले नगद ४ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख शिल्ड, मेडल र प्रमाण पत्र पाप्त गर्नेछन् । त्यस्तै तेस्रो स्थान प्राप्त गर्ने टिमले नगद १ लाख शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता इटहरीस्थित क्षेत्रीय रङ्गशालामा हुनेछ । कार्यक्रमको व्यवस्थापन तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल सङ्घ रहेको छ । त्यस्तै, सहयोगी संस्थाहरूमा इटहरी उपमहानगरपालिका, भलिबल सङ्घ प्रदेश १ समिति र प्रगति सेवा समाज रहेका छन् ।