काठमाडौंः काठमाडौं महानगरपालिकाले आज(सोमवार)बाट महानगरपालिकाभित्रका अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार(अप्टिकल वायर) काट्न सुरु गरेको छ । 

सडकस्थित विद्युतका पोलमा टाँगिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाउने मात्र नभई आगलागीका घटना समेत हुने गरेको पाइएपछि महानगरपालिकाले तार काट्न सुरु गरेको हो । आइतबार बसेको काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिबीचको संयुक्त बैठकले सडकमा टाँगिएका अव्यवस्थित तार काट्ने निर्णय गरेको थियो ।

महानगरपालिकाका नगरप्रहरी निरीक्षक इश्वरीप्रसाद वाग्लेले पोलमा टाँडिएका तर, प्रयोग नभएका सबै तार काटिने जानकारी दिए । उनले भने,‘पोलमा टाँगिएका सबै तार काट्ने भनेको होइन । जुन प्रयोग बिहीन छन् । त्यस्ता तार काट्ने भनिएको हो । माइतीघर मण्डलाबाट यो काम सुरु भएको छ । महानगरपालिकाभित्रका सबै ठाउँमा अब यो काम हुनेछ । यसमा दुरसञ्चार प्राधिकरणदेखि सबै ‘सर्भिस प्रोभाइडर’ साथ छ ।’

निर्णय अनुसार महानगरपालिकाले सोमवार बिहान ८ः३० बजेबाटै माइतीघर मण्डला आसपासका सडकस्थित पोलमा टाँगिएका इन्टरनेट, टेलीफोन लगायतका तार काट्न सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनका अनुसार सोमवार दिनभर महानगरले माइतीघर क्षेत्र आसपास र न्युरोडका सडकमा टाँगिएका अव्यवस्थित तार हटाउने  छ । 

Photo (4) (1)

सडकका पोलमा टाँगिएका अव्यवस्थित तार काट्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्न दूरसञ्चार प्राधिकरणले ‘सर्भिस प्रोभाइडर’लाई निर्देशन दिइसकेको छ । प्राधिकरणले ‘सर्भिस प्रोभाइडर’का प्रतिनिधिलाई पनि तार काट्ने क्रममा सहभागि हुन भनेका छन् । प्रयोग भएका र नभएका तार पहिचान गर्न ग¥हो हुने हँुदा उनीहरुलाई महानगरका कर्मचारीसँगै खटिन भनेको हो । भुलवस प्रयोग भएका तार काटिए ‘सर्भिस प्रोभाइडर’ नै जिम्मेवार हुने प्राधिकरणले भनेको छ । 

विज्ञप्ती सार्वजनिक गर्दै प्राधिकरणले भनेको छ,‘सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नखुल्ने गरी तारमा ‘ट्याग’ हुनुपर्ने व्यहोरा जानकारी गराइन्छ । तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ‘ट्याग’ नभएको कारण तार काटिएमा वा हटाईएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने व्यहोरा जानकारी गराइन्छ ।’

यी ठाउँमा काटिँदै छ तार 

माइतीघर हुँदै एयरपोर्टसम्म

त्रिपुरेश्वर हुँदै महाराजगञ्जसम्म

न्यूरोड–बसन्तपुर हुँदै असनसम्म 

माइतिघर पुतलीसडक हुँदै नारायणहिटीसम्म

भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीसम्म

डिल्लीबजार–अनामनगर हुँदै नयाँ बानेश्वरसम्म 

नक्साल–बालुवाटार हुँदै शीतल निवाससम्म

माईतिघर त्रिपुरेश्वर हुँदै कलंकीसम्म

लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुशी–सोहखट्टे–ढल्कोसम्म

ताहाचल हुँदै स्वयम्भुसम्म

सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला

गौशाला हुँदै बौद्धनाथसम्म

कालिमाटी– कुलेश्वर हुँदै बल्खुसम्म