काठमाडौंः  प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कपडा खेलपछि संसदमा भएको यस्तो अभद्र व्यवहारको चर्चा भइरहेको छ । 

सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेका उनलाई सभामुख देवराज घिमिरेले नियम ३० बमोजिम कारबाहिको चेतावनी दिए । 

उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएपछि उनी रोकिएका थिए। 

नरोकिएका भए उनलाई मर्यादा पालकले संसद बैठकबाट बाहिर निकाल्नेदेखि बैठकमा सहभागि हुन नपाउने सम्मका कारबाही हुन सक्थ्यो । 

संसद नियमवालीको नियम ३० अन्तर्गत अभद्र व्यवहा गर्ने सदस्यहरुलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। 

Photo (1) (1)

‘चेतावनी शीर्षक अन्तर्गत बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ,’  भन्ने व्यवस्था नियमवालीमा भनिएको छ। 

त्यसैगरी यदि सभामुखको आदेश पालना नगरेको अवस्थामा सभामुखले कुनै पनि सदस्यलाई बैठकबाट निस्केर जान आदेश दिन सक्नेछन्। 

नियम ३१ अन्तर्गत बैठक कक्षबाट निष्काशन शीर्षकमा भनिएको छ, ‘नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ। आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।’

345021812_198329979727191_1814395674016809321_n

त्यसैगरी नियम ३१ कै उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने उल्लेख छ।

उपनियम (२) बमोजिम बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ। यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिने व्यवस्था संसद नियमवालीमा छन्।