काठमाडौंः कोशी प्रदेशको नाम खारेजीको माग गर्दै शान्तीपूर्ण आन्दलोलन गर्दै आएको  प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप संर्घषको  घोषणा गरेको छ । 

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले तथा अन्य विभिन्न घटकले भोलिबाट प्रदेश सभा केन्द्रीत शसक्त आन्दोलन गर्ने गरी ६ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । 

उनीहरुले मंगलवार ‘कोशी’ नाममा हस्ताक्षर गर्ने सांसद र उनीहरूलाई आदेश दिने दलका विरुद्ध झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गर्ने , वैशाख २८ बाट ८२ सांसद र उनीहरूका दलीय शीर्ष नेता हिंड्ने बाटो, बस्ने होटल, खाने स्थान, उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थल सबै स्थानमा विरोधका कार्यक्रम गर्ने बताएका छन् । 

त्यस्तै, २८ गते प्रदेशका ८२ सांसद बहिष्कार गर्दै ‘कोशी’ नाम खारजी जागरण अभियान चलाएर जिल्लामा आमसभा, तालाबन्दी, गर्ने तथा कोशी नाम लेखिएका सबै हटाउने, जलाउने, कालो झण्डा देखाएर विरोध गर्ने,जेठ २ देखि ५ गतेसम्म प्रदेश १ को १४ वटै जिल्लाका मुख्य स्थानहरूमा संघर्ष समितिका केन्द्रीय नेताहरूको सहभागितामा जनजागरण अभियानलाई तीव्रता दिने तथा निकट भविष्यमा प्रदेश सभा अधिवेशन केन्द्रित विशाल जनप्रदर्शनको व्यापक तयारी गर्ने लगायतका विविध ६ बुँदाको विरोध कार्यक्रम घोषणा गरेका छन् । 

उनीहरुले आफ्नो आन्दोलन पहिचानको भएको बताउँदै कुनै पनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पारेका छन् । 

तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा शान्तीपूर्ण रुपमा आन्दोलनरत पक्षलाई आतंककारीको आरोप लगाएका प्रति आपत्ति  जनाउँदै सार्वजनीक रुपमा उनले माफी माग्नुपर्ने बताएका छन् । 

संघर्ष समितिले गत फागुन महिनादेखि छापामार शैलीमा प्रदेशको नामाकरण गरेको भन्दै कोशी प्रदेश नामाकरण विरुद्ध पहिचान सहितको पुनःनामाङ्कन गर्नुपर्ने माग राखी शान्तीपूर्ण आन्दोलन गर्दै आएको छ । आफ्ना मागप्रति सरकारले चासो नदिएको भन्दै मंगलवारबाट थप शसक्त रुपमा आन्दोलन गर्ने तयारी गरेको हो ।