काठमाडौंः अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी बजेटका लागि लक्ष्य सुस्पष्ट गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले प्रशासनिक खर्च घटाउने बताए । उनले समस्याको छिद्र छिद्र केलाइएको हुनाले कसरी हुन्छ बजेटमा खर्च घटाउने लक्ष्य लिइएको बताए ।
उनले भने ‘ मलाई विश्वास गर्नुस्, व्यक्ति र पार्टी भन्दा माथि उठेर काम गर्नेछु, निराश हुने अवस्था छैन्, खर्च कटौती हुन्छ नै, प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरिनेछ, कम खर्चमा उच्च काम गर्ने लक्ष्य हुनेछ । ’
अर्थतन्त्र कसरी चलायमान हुन्छ, राजश्व कसरी बढ्छ, देश र जनताको हित कसरी हुन्छ भन्ने विषयमा आफ्नो ध्यान रहेको प्रष्ट पार्दै अर्थमन्त्री महतले बजेटको बारेमा आशंका नगर्न आग्रह गरे ।
उनले भने ‘ लगानी नभइ उद्योग व्यवसाय बढ्दैन, उद्योग व्यवसाय नभए रोजगारी बढ्दैन,अब विदेशी निजी लगानी पनि ल्याउने हो, मध्यपूर्वका केही देशहरु कसरी बनेका छन् त्यो पनि हेरिएको छ, विकासमा मोडेल बनेर अघि बढेका देशका नजिर पनि लागू गरिनेछ । ’
अब सरकारले आफनो वास्तविक हैसियत अनुरुप अघि बढ्ने उल्लेख गर्दै उनले नयाँ गाडी खरिद बन्द गर्ने बताए । उनले नयाँ भवन बनाउनेतर्फ पनि सरकारको ध्यान नजाने बताउँदै निर्मम बनेर सरकारले खर्च घटाउने जिकिर गरे ।
उनले भने ‘अब घाँटी हेरेर हाँड निल्ने हो, स्रोत र साधनले भ्याए अनुसार काम गरिन्छ, जथाभावी खर्च घट्छ नै अनावश्यक खर्च पूरै रोकिने छ । ’