काठमाडौंः शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको स्वागत तथा उनको तेस्रोपटक राजगद्दी आरोहणको माग गर्दै यही बैशाख ३० गते काठमाडौंको रत्नपार्कदेखि नारायणहिटीसम्म सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले उक्त आन्दोलनमा सरिक हुन आम जनतालाई आग्रह समेत गरेको छ ।
शाही युवा शक्ति केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको माग गर्दै आफूहरुले विगत १२ वर्ष भएको र अहिले आफूहरु सफलताको नजिक रहेको बताए ।
उनले भने,‘१२ वर्षअघि हामीले राजसंस्थाको कुरा गर्दा मिडियाले पनि वास्ता गर्दैनन् थिए, तर अहिले अवस्था फेरिएको छ । हाम्रो आवाज मूलधारका मिडियाले खोजेको हुँदा हामी सफलतानजिक पुग्यौंकी जस्तो लागेको छ। हिजो नेपालको राजसंस्थाले नेपाल बनाएको हो, राजसंस्थाले जनताको पक्षमा निर्णय गरेको कुरा घामजस्तै छर्लङ् छ ।’
उनले ००७ सालको प्रजातन्त्र ल्याउँदापनि राणासँग राजाहरुको सुमधुर सम्बन्ध रहेको स्मरण गराए ।
उनले भने,‘जनतासँग मिलेर राणा शासन फालेर प्रजातन्त्र ल्याउने प्रमुख दायित्व राजसंस्थाकै थियो । त्यसपछाडि दलहरुको विभिन्न खिचातानीहरुलाई अन्त्य गर्दै पञ्चायतकाल सुरु भयो। त्यो पञ्चायतकालको समयमा पञ्चायती प्रजातन्त्र थियो। जनताको छोराहरु विभिन्न गाउँको पञ्चायत, जिल्लाको पञ्चायत थिए । जनताकै प्रतिनिधिहरुलाई मानेर पञ्चायतकालमा पनि नेपालको राजसंस्थाले जनताको छोरो मन्त्री, जनताको छोरो प्रधानमन्त्री बनेका थिए ।’
नेपालको राजसंस्थाले जहिल्यैपनि नागरिकलाई शीरमा राखेर देश चलाएको उनको दाबी छ । उनले नेपालको राजसंस्थाले जनताको चाहनालाई सम्मान गर्दै ०४६ को आन्दोलनपछि दललाई पनि साथमै लिएर अघि बढेको पनि बताए ।