काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एकलौटी निर्णय गरेर पूर्व लडाकुलाई पैसा दिन लागेको आफ्नो भनाइ दोहोर्याएका छन् । 

बिहीबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गर्नु दुर्भाग्यपूर्ण भएको बताए । 

उनले भने ‘विकास निर्माणका काम अवरूद्ध छन् । यस्तो बेलामा लडाकु, क–कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ । सरकारबाट बलजफती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने? लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो । ’ 

अध्यक्ष ओलीले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार भएको टिप्पणी गरे । राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाई छ । यसपटक पनि लडाकुको नाममा लिएको रकम माओवादी पार्टीले नै राख्ने आरोप पनि ओलीले लगाए ।