काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसद्मा बोल्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणबारे कुराहरू जेठ चार गतेको संसद् बैठकमा बोल्ने बताएका हुन् । 

उनले भने ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ? भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु । ’

२०–२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको बताएका छन् । 

यसैबीच भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए ।