काठमाडौंः अनेरास्ववियुका अध्यक्ष समिक बडालले राज्यलाई ठग्ने व्यक्ति प्रधानमन्त्री, नेता र मन्त्री हुने प्रवृत्ति देशको लागि चुनौतीको विषय भएको बताएका छन् । 

नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका विषयमा बिहीबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा उनले मुलुकलाई ठग्ने सबै चोर भएको भन्दै सरकारले उनीहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार समान हुनुपर्ने बताए । 

उनले भने, भष्टाचार गर्ने कुनै पनि पार्टीका नेता कुनै कर्मचारी होस त्यो अपराधी हो । त्यसमा अनेरास्ववियुका जहिले पनि प्रष्ट छ । व्यक्तिलाई चोरी गर्ने चोर हुने राज्यलाई ठग्ने प्रधानमन्त्री, नेता, मन्त्री हुने जुन स्थापित हुदैँ छ त्यो चुनौती हो हाम्रो संगठनहरुको लागि, मुलुकलाई ठग्ने वा व्यक्तिलाई सबै एउटै चोर र अपराधी हो । उनीहरुलाई हेर्ने दृष्टिकोण सरकारले समान गर्नुपर्छ र त्यही अनुसारको व्यवहार गर्नुपर्छ ।  

अन्र्तक्रियामा अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले भुटानी शरणार्थी प्रकरणले नेपालीहरुको शीर झुकेको भन्दै यो प्रकरण लेनदेन र सम्झौतामा नटुङ्गियोस भन्ने खबरदारी जारी राखेको बताए । 

उनले भने, यो प्रकरणले गर्दा नेपालीको शीर झुकेको छ । कारवाही गर्नुपर्छ भनेर पहल गर्ने संगठन हाम्रो हो । पक्राउ हुने प्रक्रिया छ यो लेनदेन र सम्झौतामा नटुङ्गियोस भन्न हामी खबरदारी गर्न चाहान्छौ । ’ 

अध्यक्ष राईले भुटानी शरणार्थी प्रकरणमा ठूला ठूला नाम पनि आएको भन्दै सरकारलाई ठूला माछा भन्नेहरुलाई पनि छानबिनको प्रक्रिया अगाडि बढाउन र आवश्यक परे पक्राउ पनि गर्न आग्रह गरेका छन् ।