काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली शरणार्थी प्रकरणमा अमेरिकाको दबावका कारण ठूला नेताहरु पक्राउ परेको आरोप लगाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको भ्रष्टाचार विरोधी नीतिको उपज छानबिन प्रक्रियाले तीव्रता नपाएको अवस्थामा अमेरिकाको दबाबमा नै सरकारले छानबिनमा तदारुकता देखाएको आरोप लगाए ।
उनले अमेरिकाको धम्कीपूर्ण दबाबको कारणले कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ परेको र एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी पनि गरेका छन् ।
मिश्रले फेसबुकमा लेखेका छन् ‘ भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ । तपाईंलाई लाग्छ, यो काण्डबारे दू्रत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ? त्यो हो भने भ्रममा हुनुहुन्छ। भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’
‘कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिनु होला।’
उनले थप लेखेका छन् ‘ माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनियाँ जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ति काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैन? ’
तसर्थ, “वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ” भन्नु बेकार रहेको पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रको तर्क छ ।