काठमाडौंः नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारवाही नगर्ने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसंग कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिले नै खाँण दोषी प्रमाणित भइनसकेकोले बैठकले उनलाई तत्काल निलम्बन नगर्ने निष्कर्ष निकालेको जानकारी दिए । 

उनले भने, ‘कुनै पनि घटनामा पक्राउपर्ने सबैलाई दोषी हो भन्न मिल्दैन त्यसलाई अभियुक्तको रुपमा लिनुपर्छ । अदालतबाट फैसला आएपछि मात्रै दोषी हुने हो । उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइ रहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणको राम्रो सँग छानबिन गर्नुपर्छ र कुनै पनि दोर्षी छुट्नु हुदैँन् । र निर्दोष पनि पर्नु हुदैँन् ।’

काँग्रेस कहिले पनि दोषीलाई उम्काउने पक्षमा नभएको भन्दै उनले अनुसन्धानपछि अदालतले जे भन्छ त्यो मान्न तयार भएको बताए ।  

सहमहामन्त्री परियारले तत्काल कारवाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताए । 

नेकपा एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गरेपनि खाँणको हकमा भने कांग्रेसले अदालतको निर्णय कुर्ने उनको भनाई छ ।