काठमाडौंः काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । 

अदालतले नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर छानविन गर्न प्रहरीलाई अनुमति दिएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयको प्रस्ताव अनुरुप अनुसन्धानका लागि ४ दिन म्याद थपिएको अदालतले जनाएको छ । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्ररणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, सरकारका सचिव टेकनारायण पाण्डे, निलम्बित एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, र यस प्रकरणमा महत्वपूर्ण भुमिका खेल्ने केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई, खाँणका पूर्व स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी र सन्देश शर्मा रहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई ४ दिन भित्र अनुसन्धान सक्न पनि निर्देशन दिएको छ । यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।