काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको अवस्था र व्यवस्था दुवै परिवर्तन नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित विद्यार्थी दिवस र अबको बाटो विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले सिङगो व्यवस्थालाई परिवर्तन गरेर मात्र अवस्थामा पनि परिवर्तन गर्न सकिने टिप्पणी गरे ।
उनले भने ‘ एउटा भाषा छ व्यवस्था बद्लियो अवस्था बदलिएन तर व्यवस्था पनि बदलिएको छैन् अवस्था पनि बदलिएको छैन् । त्यसैले यो सिङगो व्यवस्थालाई पनि परिवर्तन गर्न खाँचो छ । अनि मात्र अवस्थामा पनि परिवर्तन गर्न सकिन्छ । जनता बाहेक राजनीतिको कुनै अस्तित्व छैन् ।’
उनले चुनौतीको सामना गर्न सकिन्छ भन्ने आँट गरेमा जस्तो सुकै अप्ठ्यारोहरु पनि पार गर्न सकिने बताए । अहिले नेपाली समाज अप्ठ्यारो परिस्थितिबाट अगाडि बढिरहेको उनको बुझाई छ ।