काठमाडौँः नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको दबाबमुलक कूटनीतिमा नेपाल पर्न नुहुने भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकमा उनले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको आरोप लगाए । सांसद पन्तले नेपाली जनताले हटाएका पूर्व राजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताए ।
उनले भने‘हाम्रो प्रधानमन्त्री भारत जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सर्यै छ । फेरि कहिले हुने हो थाहा छैन । तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दाखेरि पूर्व राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ, प्रेसर डिप्लोमेसी । यो विश्व कूटनीतिमा चलनचल्तीमा रहेको छ । के मेरो एजेण्डा गर्छौ ? तिमीले बोकेर आउने एजेण्डामा त्यो विषय कार्यसूचीमा पर्छ कि पर्दैन ? अनिमात्र भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाब दिन राजालाई भारत बोलाइयो ।’
उनले मुलुकको परराष्ट्र नीति सन्तुलित हुनुपर्ने बताए ।