काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ ।

पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बयान जारी छ । यसअघि उक्त घटनामा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सोमबार र मङ्गलबार बयान लिइएको थियो ।

बाँकी अनुसन्धान गरी अन्तिम प्रतिवेदन बनाएर सरकारी वकीलको कार्यालयमा पेस गर्ने तयारी प्रहरीको छ । उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ । अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रासस