काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भए पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएका हुन । 

उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताए ।  उनले दोषी नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको उल्लेख गरे । 

उनले भने, ‘‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरेर प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन। नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन। हस्तक्षेप गरिने छैन। भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने ब्यहोरा म प्रष्ट गर्न चाहन्छु। दोषी कोही पनि उम्किन नपाओस्। निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ। जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न जो कोही पनि कानुनको दायरामा आउने नै छन्। त्यो प्रक्रिया अगाडि बढेको छ। भिभिआइपीहरू पनि परि त राखेका छन्। त्यसकारण यसमा स्वतन्त्र र निष्पक्ष रूपले छानबिन भइराखेको कुरा त्यसले प्रमाणित गर्दछ। यस्ता विषयमा सरकारले कुनै आग्रह या कुनै पूर्वाग्रह नलिई निष्पक्ष, तटस्थ र व्यावसायिक छानबिन गरी अन्तिम निष्कर्ष निकाली अपराधीलाई कानुनको दायरामा ल्याउन जोड गरेको छ। प्रधानमन्त्रीको हैसियतले मैले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्कने र निर्दोष नपर्ने नीति अन्तर्गत अगाडि बढ्न निर्देशित गरेको छु।’’

प्रधानमन्त्री दाहालले प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अगाडि बढाइराखेको जानकारी गराउनुभयो। उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको बताए ।