इटहरीः भोली(सोमबार) देखि इटहरीको प्रादेशिक रंगशालामा रातको समयमा हुने मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । यो प्रतियोगिताले खेलकुदको माध्यमबाट इटहरीको पर्यटनमा थप टेवा पुग्ने आशा गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा हुन लागेको प्रतियोगितामा सहभागी ६ वटै टिम इटहरी आईसकेको जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष बिक्रम बाबु थापाले जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुन तीन विभागीय टिम र तीन वटा प्रदेशका महिला भलिबलका टिम इटहरी आईसकेको थापाले जनाए । थापाका अनुसार तीन विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको टिम इटहरी आईसकेको छ । 

353038068_1399654804209789_2616599079508932114_n

त्यसैगरी प्रतियोगितामा सहभागी हुन लुम्विनी, बागमती र कोशी प्रदेशको टिम पनि इटहरी आईपुगेको छ । जेष्ठ ३२ गतेसम्म चल्ने प्रतियोगितामा विजेता बन्ने टिमले नगद ३ लाख, शिल्ड र प्रमाणपत्र पाउने छ । 

 उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार रुपैयाँ पाउने छन् । यस्तै, उत्कृष्ट विधाहरु अन्तर्गत बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेन्डरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने थापाले जनाए । 

353060261_1399654754209794_5114733737775033426_n

 कुल २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराइने  आयोजकले जनाएको छ । अत्यधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको थापाले बताए । 

प्रतियोगिता साँझ ६ बजेबाट राती १० बजेसम्म चल्ने छ । दर्र्शकहरुका लागि प्रतियोगिता हेर्नका लागि प्रवेश निःशुल्क गरिएको छ । रात्री समयमा हुन लागेको राष्ट्रिय महिला भलिबल प्रतियोगिता इटहरीमा पहिलो हो । यसअघि पुरुष भलिबल प्रतियोगिता इटहरीमै रात्री समय सम्पन्न भईसकेको थियो । 

353403916_6239291156163252_6209122004148366172_n