काठमाडौंः नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्व एक करोड ४२ लाख ५२ हजार ५५० रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बिहीबार विज्ञिप्त जारी गर्दै यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिए ।

२०४८ फागुन ९ देखि अवकाश पाएको मिति २०७९ जेठ ९ गतेसम्म सार्वजनिक सेवामा रहँदा आयभन्दा बढी एक करोड ४३ लाख ५२ हजार ५५० रुपैयाँ बराबरको रकमको स्रोत नखुलेको भन्दै अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगको विज्ञप्तिमा पारिश्रमिक बचत, प्रोत्साहन भत्ता, प्राधिकरणबाट लिएको कर्जा आय, बैंकबाट लिएको कर्जा आय, सहकारीबाट लिएको कर्जा आय, शेयरबाट प्राप्त नगद लाभांश निजको समग्र आय एक करोड ७१ लाख ४६ हजार ४४ रुपियाँ देखिएको जनाइएको छ।यसैगरी बैंक मौज्दातमासमेत गरी तीन करोड १३ लाख ९८ हजार ५९४ रुपियाँ देखिएको विज्ञप्तिमा उल्लेख छ।

निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको माग दाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।