काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रमुख साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश गरेको हो ।
बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएसंगै लिखित जवाफ मागिएको छ ।
यसअघि काठमाडौं महानगरपालिकामा हिन्दी फिल्म आदिपुरुषको प्रदर्शनमा मेयर साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।
तर,अदालतले रोकेपछि बालेनले आक्रोशित हुँदै राष्ट्रिय स्वाधिनताका लागि अदालतलाई पनि नमान्ने र फिल्म चल्न नदिने भन्दै सामाजिक सञ्जालमा घोषणा गरे । बालेनको उक्त आक्रोषपूर्ण अभिव्यक्ति पछि अदालको अवहेलना भएको भन्दै उनीमाथि रिट परेको थियो ।