काठमाडौंः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

उनि सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल रहेका छन् ।

श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उदघाटन समारोहलाई सम्बोधन गरेर दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम छ । 

शुक्रबार भने सिचवान विश्वविद्यालय नेतृत्वसँग भेट र त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य दिनेछन् । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन् । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’ को अवलोकन भ्रमण गर्नेछन् भने दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।