काठमाडौँः नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार पुर्याउन माग गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महँगीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए।
“सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई समेत मासिक रु २६ हजार तोकेको अवस्थामा वर्तमान समयको कहालीलाग्दो मूल्यवृद्धि, महँगीमा निजी क्षेत्रमा कार्यरत श्रमिकले मासिक रु १५ हजारले जीवनयापन गर्न सक्दैनन्, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्छ”, महासचिव राईले भने ।
नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुईरदुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने उनकोभनाइ छ ।
महासचिव राईले श्रमजीवीको पारिश्रमिकको सन्दर्भमा नेपाल ट्रेड युनियन काँग्रेसले विगतदेखि नै न्यूनतम पारिश्रमिक श्रमिकको जीवनयापनको निमित्त सहजता प्रदान गर्ने हुनुपर्दछ भन्ने कुरा उठाउँदै आएको बताए । नेपाल ट्रेड युनियन काँग्रेसको यही असार ४ देखि ६ गतेसम्म काठमाडौँमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले समेत श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्ने निर्णय गरेको थियो ।
आकासिँदो महङ्गीको वर्तमान अवस्थालाई ध्यानमा राखेर श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार निर्धारण नभए कडा कदम चाल्ने नेपाल ट्रेड युनियन काँग्रेसले जनाएको छ । रासस