काठमाडौंः अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।

ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् । कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ ।

सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५ भन्दा बढी किचेन रुम छन् । ‘नार्कमा २० बढी कृषिका वैज्ञानिकका साथै ७० जना बढी कर्मचारी कार्यरत छन् । तर हाकिमपिच्छेका ती किचेनमा जतिखेर नि कुकरको सिटी लागिरहेको हुन्छ । मिठो खाने बानी परेर हो कि किन हो त्यो त थाहा छैन । मिठो खानलाई त ठीक छ तर काम गर्नलाई ठीक छैन,’ कोठैपिच्छे रहेका किचन रुमबाट पीडित एक कर्मचारीले भने ।

तर, डम्पिङ साइटजस्तै भएको नार्कमा नयाँ नेतृत्व आएपछि व्यवस्थित बनाउने काम भइरहेको छ ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले कर्मचारीबाट विभिन्न किसिमका गुनासो आएको र त्यसलाई सुधार गर्ने काम आफूले गरिरहेको बताए । आफू एक महिनाअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि नार्कलाई वास्तविक वैज्ञानिकको संस्थाका रूपमा रूपान्तरण गर्ने काम तीव्र गतिमा गरिरहेको उनले बताए ।

‘तल्लैपिच्छे किचेनै किचेन, प्रत्येकलाई छुटाछुटै किचेनको आवश्यकत्ता छैन् । बसेर गफ गर्ने, खुरापाती गर्ने थलो भएको गुनासो आएपछि मैले सबै हटाउने निर्णय गरिसकेको छु । अब ती सबै किचेन बन्द हुन्छन्,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘व्यवस्थित खाजा घर, अन्तर्राष्ट्रियस्तरको बगंैचा, एवं पार्किङको काम मेरो प्राथमिकतामा रहेको छ । केही समयमै नार्कमा व्यापक सुधार भएको देखिन्छ ।’

नार्कमा कार्यरत वैज्ञानिक एवं कर्मचारी सुविधा सम्पन्न बैठक कक्ष, सबै अनुसन्धान केन्द्रहरूबाट प्रविधि विकास एवं किसानलाई दिँदै आएका सुविधा चुस्तदुरुस्त, गुणस्तरीय, छिटोछरितो हुनेगरी व्यवस्थित बनाउने कार्यमा आफू लागेको भट्टराईले बताए ।

कार्यालयभित्रै फोहोरै फोहरका साथै पार्किङदेखि अन्य समस्याले कार्यालय अव्यवस्थित देखिन्छ । कार्यालय कार्यालयजस्तो बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । नयाँ नेतृत्व आएपछि युवा वैज्ञानिक उत्साहित देखिन्छन् । भट्टराईको कडा निर्देशन एवं कामको गति देखेर कार्यालयमा सकारात्मक परितर्वनका साथै कार्मचारी जिम्मेवार बन्नेमा विश्वास लागेको एक कर्मचारीले बताए ।

नार्कका कृषि अर्थशास्त्रका वैज्ञानिक समय गैह्रेले अव्यवस्थित कार्यालय व्यवस्थित बनाउने काम तीव्र गतिमा अघि बढ्ने बताए । सरसफाइका नाममा शून्य, सबैतिर फोहोरै फोहरले काम गर्ने वातावरण नभएको बताउँदै उनले नयाँ कार्यकारी निर्देशक आएपछि सुधारको काम भइरहेको बताए । आउने दिनमा पनि यही गतिमा काम अघि बढे नार्कले ठूलो उपलब्धि हासिल गर्ने र कृषक लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।

‘पहिला नियमित बैठक, छलफल हुँदैन्थ्यो, अहिले सुरु भएको छ । तल्लो तहदेखि सबै कर्मचारीका आवाज, गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको बनेको छ,’ गैह्रेले भने, ‘कार्यालयमा आउनुपर्ने पत्रपत्रिका कर्मचारीको घरघरमा जान्थ्यो, अहिले त्यो बन्द भएको । यो सकारात्मक पक्ष हो अन्य क्षेत्रमा पनि यस्तै सकारात्मक परिवर्तनको लक्ष्ण देखिन्छ ।’

नार्कका किट वैज्ञानिक किशोर भण्डारीले कार्यालयको सूचना कार्यालयकै कर्मचारीले नपाउने अवस्था रहेको र कार्यालयलाई नै डम्पिङसाइटजस्तो बनाइएको दुखेसो पोखेका छन् ।

‘पहिला कार्यालयमा आउने सूचना हामी नै पाउँदैनथ्यौं । एक महिना यता सुधार भएको देखिन्छ । विदेशबाट आउने अवसर पेन्डिङ गरेर राख्न्थ्यिो’ भण्डारीले भने, अहिले विदेशबाट आउने तालिम, प्रशिक्षणलगायतका अवसर सबैले पाउनेगरी व्यवस्थित बनाउने काम भएको छ ।’

आफू कार्यरत कार्यालय व्यवस्थित नहँुदा जोकोहीलाई काम गर्ने वातावरण नुहने बताउँदै उनले कार्यालयमा सुधारको संकेत देखेर आउने दिनमा सबैका लागि राम्रो हँुदै जाने विश्वास व्यक्त गरे ।

नार्कका योजना महाशाखाका प्रमुख डा. टेकप्रसाद गोतामेले पहिला नियमित स्टाप मिटिङ नहुँदा आआफ्नो जिम्मेवारीअनुसारको काम तोकिएको समयमा नगर्ने सिस्टमको अब अन्त्य हुँदै गएको बताउँछन् ।

‘हामीले गर्ने गरेको कामको व्यवस्थित रूपमा सूचना प्रवाह नभएकाले सबैको जानकारीका लागि व्यवस्थित गर्ने काम गरिरहेका छौं’ गोतामेले भने, ‘यो हाकिमपिच्छेको कोठे किचेन व्यवस्थाको विरोधी हो म । तर, मेरो कुरा यहाँ पहिला नसुनेपछि म यहाँ खानै छोडे । अहिले सुधारको अभियान चलेको छ, अब हुन्छ होला ।’

नार्कलाई सुधार गर्ने, व्यवस्थित बनाउने, वैज्ञानिक तथा कर्मचारीलाई काम गर्ने वातावरण निर्माण गर्नुका साथै नियमित बैठक, छलफल, एवं अव्यवस्थित किचेन रुम हटाउने अभियान रोक्न नहुने बताउँदै उनले नार्कलाई उत्कृष्ट कार्यालयका रूपमा बनाइने बताए ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।