काठमाडौंः  काठमाडौँ जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९र८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८र७९ को तुलनामा आव २०७९र८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए ।

‘आव २०७८र७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९र८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने ।

यस्तै, आव २०७८र७९ को तुलनामा आव २०७९र८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८र७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९र८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

यसैगरी, आव २०७९र८० मा लागुऔषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौँभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८र७९ को तुलनामा आव २०७९र८० मा घटेको छ ।

आव २०७८र७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९र८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताउनुभयो । काठमाडौँमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।रासस