काठमाडौंः आकर्षक तलब पाउने प्रलोभनपछि काठमाडौंकी १६ वर्षीया आस्था शर्मा (परिवर्तित नाम)ले पर्सा धोबिनी गाउँपालिका– ५ का २७ वर्षीय फैज उल्लाह साहलाई नागरिकतासहितको सबै व्यक्तिगत कागजात बुझाइन् । फैजले शर्मालाई भनेजति तलब त दिए, तर व्यक्तिगत कागजात लागुऔषध तस्करीमा प्रयोग गरे । पत्तै नपाई लागुऔषध कारोबारी नै बनाइदिए । 

कक्षा १२ को परीक्षा सकेर बसेकी शर्मा काठमाडौंस्थित ‘जब सोलुसन एजेन्सी’मा ‘रिसेप्सनिस्ट’को भूमिकामा काम गर्थिन् । यही क्रममा फैजको कम्पनीमा आकर्षक तलबसहित कर्मचारी आवश्यक रहेको जानकारी पाइन् । सँगै परीक्षा दिएर बसेकी शर्माकी साथी जागिरको खोजीमा थिइन् । उनले साथीलाई फैजकहाँ पठाइन् । तर, पछि फैजले आफूहरूको काममा साथी काम नलाग्ने भन्दै शर्मालाई नै ‘अफर’ गरे । मासिक २० हजार रुपैयाँ दिने निधो गरे, जुन जब सोलुसनको भन्दा धेरै थियो । 

सोचेभन्दा बढी तलबमा लोभिएकी शर्मा नयाँ जागिरमा जोडिइन् । फैजले शर्मासँग नागरिकतासहितको व्यक्तिगत कागजात मागे । शर्माले सहजै उपलब्ध गराइन् । फैले शर्माको कागजात भारतको दिल्ली हुँदै अमेरिकाको क्यालिफोर्निया पठाए । यता शर्मालाई भने ‘तिम्रो नाममा अमेरिकाबाट चकलेट, सजावटका सामान, खेलौना र कपडा आउँदै छ, विमानस्थल गएर रिसिभ गर्नू र मलाई दिनू,’ भने ।

नभन्दै त्यसो भनेको केही दिनपछि शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार्सल आएको सन्देश आयो । उनी पार्सल लिन विमानस्थल पुगिन् । जब उनले पार्सल बुझिन्, प्रहरीले पक्राउ गर्‍यो । खोलेर हेर्दा पार्सलभित्र दुई किलो अमेरिकी गाँजा थियो । 

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले उक्त लागुऔषध अमेरिकीस्थित तस्करले फैजलाई पठाइदिएको र रिसिभ गर्न मात्रै शर्मालाई प्रयोग गरिएको बताए । ‘अमेरिकी गाँजा नेपालसम्म ल्याउन नाबालिकाको नागरिकता प्रयोग गरिएको छ । यसको ‘मास्टर माइन्ड’ फैज हुन् । आफू पक्राउ पर्ने डरले उसले नाबालिकालाई लागुऔषध रिसिभ गर्न प्रयोग गरेकोे देखिन्छ । यही प्रयोजनका लागि बालिकाको नागरिकता लिएको र आकर्षक तलब दिने प्रलोभन दिएको देखिन्छ ।’

प्रहरीले घटनाका ‘मास्टर माइन्ड’ फैजलाई पक्राउ गरेको छ । शर्मालाई भने तारेखमा छाडेको छ । शर्मालाई प्रलोभनमा पारी प्रयोग मात्रै गरिएको देखिँदा तारेखमा छाडिएको ब्युरो प्रवक्ता एसपी जोशीले बताए । उनका अनुसार फैज उक्त गाँजा भारत लैजाने तयारीमा थिए । 

फैजले पहिले पनि ल्याएका थिए अमेरिकी गाँजा 
ब्युरोले फैजलाई यसअघि पनि अमेरिकको क्यालिफोर्नियाबाट नेपाल ल्याएको ४.५ किलो गाँजासहित पक्राउ गरेको थियो । त्रिभुवन विमानस्थलबाट पक्राउ परेका उनीसँगै भारतीय नागरिक ३० वर्षीय अशोकभाइ दयानी पनि पक्राउ परेका थिए । 

गत २१ फागुनमा पक्राउ परेकामध्ये भारतीय नागरिक दयानी अहिले पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । तर, फैज भने एक लाख २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसलगत्तै उनले पुरानो धन्दा पुनः सुरु गरेको ब्युरोको भनाइ छ ।

ब्युरो प्रवक्ता एसपी जोशीले भने, ‘उसलाई पहिला पनि अमेरिकी गाँजासहित पक्राउ गरिएको थियो । सँगै पक्राउ परेको अर्को व्यक्ति अझै पनि जेलमा छ । तर, फैज धरौटी तिरेर छुट्यो । यसले सोही दिनबाट पुरानो धन्दा पुनः सुरु गरेको देखिन्छ ।’

प्रहरीका अनुसार त्यसवेला अमेरिकी गाँजा फैजको नाममा आएको थियो । उक्त गाँजा चकलेट र बच्चाको खेलौनाभित्र लुकाएर जहाजबाट नेपाल ल्याइएको थियो । गाँजा लिन भारतीय नागरिक अशोकभाइ नेपाल आएका थिए । विमानस्थलबाट पार्सल बुझेपछि फैजले अशोकभाइलाई दिँदै थिए । त्यही क्रममा प्रहरीले अशोकभाइलाई पक्राउ गरेको थियो । प्रहरीले अमेरिकी २.४ केजी गाँजासहित गोरखा गण्डकी गाउँपालिका– ४ का २३ वर्षीय रूपक अर्याललाई पक्राउ गरेको थियो । उक्त गाँजा पनि सोही जहाजबाट अमेरिकाको क्यालिफोर्नियाबाट तस्कर भएर नेपाल आएको थियो ।

के छ अमेरिकी ‘ब्रिड’को गाँजामा ?
११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेटको रसायनिक अनुसन्धान भयो । यस क्रममा चकलेटमा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) नामक रसायन भएको भेटियो । जुन रसायन सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ महसुस गर्छ । यो त्यही रसायन हो जुन गाँजामा प्रसस्त मात्रामा पाइन्छ । अमेरिक ‘ब्रिड’को गाँजामा यसको मात्रा अझ धेरै हुन्छ । स्वाद पनि केही नौलो हुन्छ । 

ब्युरो प्रवक्ता जोशीका अनुसार अमेरिकी ब्रान्डका गाँजामा डेल्टा– ८ टिएचसीको मात्रा नेपाली गाँजामा भन्दा तीन गुणा धेरै हुन्छ । ‘हाइब्रिड’ गरिएको हुनाले पनि अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसी धेरै हुने उनको भनाइ छ । 

उनले भने, ‘नेपाली गाँजा र अमेरिकी गाँजाको ‘ब्रिड’ फरक छ । गाँजामा डेल्टा– ९ टिएचसी रसायन हुन्छ । जुन अमेरिकी गाँजामा नेपालीको भन्दा दुई–तीन गुणा धेरै हुन्छ । अर्का अमेरिकी गाँजा ‘हाइब्रिड’ गरिएका छन् । त्यस्ता गाँजामा डेल्टा– ९ टिएचसी रसायन धेरै हुनु स्वाभाविक हो । जसको सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ अधिक मात्रा महसुस गर्छ । किनकि यो कडा हुन्छ ।’ 

यसकारण आउँछ अमेरिकी गाँजा नेपालमा
लागुऔषध नियन्त्रण ब्युरोले तीन वर्षमा गरेको आठ अपरेसनमध्ये पाँच अपरेसनमा बरामद गाँजा अमेरिकी ‘ब्रिड’का थिए । बाँकी तीन बेलायत, क्यानडा र नेदरल्यान्डका थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत थियो । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार अमेरिकी गाँजा तस्करी भएर नेपाल आउनुमा अमेरिका बसेर नेपाल फर्किएका दुव्र्यसनी, नेपाल आएका अमेरिकी पर्यटक र तेस्रो मुलुक निर्यात कारण हुन सक्छन् । उनीहरूबाट माग भएर आएको हुन सक्ने उनी बताउँछन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।