इटहरीः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएपछि करिब एक सय केजी सुन बरामद भएपछि भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने भएको छ ।
निलम्बनका लागि भन्सार विभागले आन्तरिक रुपमा छानविन थालेको र केही समयपछि निलम्बन बारे निर्णय आउने महानिर्देशक शोभाकान्त पौडेलले बताए ।
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको महानिर्देशक पौडेलको भनाई छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो । सुन तस्करीमा संलग्न भएको आरोपमा भन्सार एजेन्ट र एक भारतीय नागरिक सहित ६ जना पक्राउ परिसकेका छन् । संलग्न केही फरार रहेकाले उनिहरुको खोजी कार्य तिब्र बनाइएको छ ।