काठमाडौंः राजश्व अनुसन्धान विभागले तस्करी भएर आएको एक सय किलो सुन पक्राउ गरेपछि तानिएका छन्, व्यावसायी दीपक मल्होत्रा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि मल्होत्राको नाम जोडिएर आएका विवरण सार्वजनिक भएका हुन्।
मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो।
मंगलबार साँझ विभागले गरेको गोप्य अप्रेसनमा सुनसहित चारजना पनि पक्राउ परेका छन्। सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको छ।
विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो। क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो।
विमानस्थलबाट हुने सुन तस्करीका प्रकरणमा व्यावसायी मल्होत्राको नाम जोडिने गरेको हो। यसअघि बरामद भएको ८८ किलो सुन, ३३ किलो सुनकाण्डमा पनि मल्होत्राको नाम जोडिएको थियो। ‘कतै न कतै उनको संलग्नता हुने गरेका कारणले निगरानीमा राखिएको छ। सय किलो प्रकरणमा पनि उनको नाम आएको छ’, अनुसन्धानका उच्च अधिकारी भन्छन्,‘यस्ता विवादमा मल्होत्रा जोडिएको यो पहिलो पटक होइन।’