काठमाडौँः वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी तालिम संस्था, स्वास्थ्य संस्थालगायतबाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ ।
यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये असाध्यै थोरै मात्रै फर्स्योट हुने गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीका क्रममा तीन हजार तीन सय ५६ वटा उजुरी परेकामध्ये तीन सय ५९ वटा (१० दशलमव ६९ प्रतिशत) मात्रै फर्स्योट भएका छन् । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठूलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने भएकाले फस्र्योटको सङ्ख्या थोरै भएको जानकारी दिए । संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै समय लाग्ने गरेको उनको भनाइ छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार तीन सय ५६ वटा रहेका छन् भने गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार सात सय ४२ वटा थिए । दुई आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीमा हुने ठगीका उजुरी एक हजार छ सय १४ ले बढेका छन् ।
आर्थिक वर्ष २०७९र८० मा विभागमा परेका ठगीका उजुरीमध्ये दुई हजार ६६४ वटा व्यक्तिगत रहेका छन् भने संस्थागत उजुरीको सङ्ख्या छ सय ४२ वटा रहेका छन् । व्यक्तिगत उजुरीमध्ये एक हजार दुई सय २६ वटा विभागमा आएका हुन् भने एक हजार चार सय ३५ वटा उजुरी प्रहरीसमक्ष आएका उजुरी हुन् । विभागका अनुसार एक वर्षको अवधिमा विभागमा परेका संस्थागत र व्यक्तिगत गरी एक हजार आठ सय ७१ वटा उजुरीबापत करिब एक अर्ब १५ करोड रकम दाबी गरिएको छ ।
संस्थागत उजुरीबाट एक करोड ६८ लाख ७९ हजार दाबीसहितको उजुरी परेकोमा एक करोड १३ लाख १५ हजार क्षतिपूर्ति भराएको विभागले जनाएको छ । व्यक्तिगत तर्फका उजुरीमा १० करोड २३ लाख ५६ हजार क्षतिपूर्तिसहित मिलापत्र गराएको विभागले जनाएको छ । यस्तै प्रहरीमा परेका एक हजार चार सय ३५ वटा उजुरीबाट करिब दुई करोड क्षतिपूर्ति भराएको जानकारी दिएको छ ।
पछिल्लो दुई वर्षको बिचमा विभाग र प्रहरीमा परेको उजुरीका सङ्ख्या हेर्दा वैदेशिक रोजगारीमा जाने सङ्ख्यासँगै ठगीका उजुरी पनि बढेको पाइएको छ । त्यसो त विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ जना रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या छ लाख ३० हजार ९० जना थियो । आर्थिक वर्ष २०७८र७९ मा एक हजार सात सय ४२ वटा उजुरीबापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ माग दाबी गरिएको थियो ।
विभागका निर्देशक सुवेदीले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराए ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेँ भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगत तर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका निर्देशक सुवेदीले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिमाणको हुने गरेको बताए।
व्यक्तिगत तर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उनको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानाडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीका नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ ।
अदालतमा उनन्सय वटा मुद्दा दायर
विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा ९९ मुरद्दा अदालतमा दायर भएका छन् । जसमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका रहेका छन् भने सात वटा कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका रहेका छन् । अदालतमा दायर भएका मुद्दाको २६ करोड ४४ लाख ९७ हजार बिगो रकम माग दाबी भएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा विभाग र प्रहरीमा आएका तीन हजार तीन सय ५६ वटा उजुरीमध्ये पाँच सय २७ वटा मिलापत्र गराएको छ । सोही अवधिमा मिलापत्रबाट करिब १२ करोड रुपियाँ पीडकबाट पीडितलाई भराएको छ ।यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।