पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
फ्रेण्डसीप चेस क्लब पथरीको आयोजनामा माघ पहिलो साता शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने क्लबले पत्रकार सम्मेलनमार्फत् जनाएको हो । प्रतियोािगतामा देशभरका एक सय ५० जनाभन्दा बढी राष्ट्रिय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष अमिर राईले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीलाई क्रमशः ५०, ४०, ३०, २० र १५ हजार नगद, ट्रफी, र प्रमाणपत्र प्रदान गरिने सचिव लोकसागर साम्बाले बताए । विभिन्न समूहमा वर्गीकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । पुरस्कारमा मात्र नगद ३ लाख ४० हजार तथा अन्य खर्च गरी जम्मा ७ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
खेल स्वीस लिगको आधारमा खेलाइने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल च्याम्पियन मदन कायस्थ, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, केशव श्रेष्ठ, शुरवीर लामा, मनिष हमाल लगायतका खेलाडीसमेत आउने क्लबका अध्यक्ष अमिर राईले बताए ।
प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिकाका साथै छिमेकी नगर तथा गाउँपालिका, निजी विद्यालयहरू, विभिन्न उद्योगी व्यवसायी, समाजसेवी लगायतबाट रकम सङ्कलन गरेर खर्च जुटाउने योजना रहेको आयोजकले जनाएको छ ।