विराटनगरः सर्वाधिक राशीको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

राट्रिय खेलकुद परिषद् र मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा यही पुस २४ देखि २८ गतेसम्म विराटनगरस्थित शहीद रङ्गशालाको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका सचिव लवभक्त श्रेष्ठले सो प्रतियोगितामा नेपालसहित मलेशिया, भारत बङ्गलादेश, म्यान्माका गरी ९० जना अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने जानकारी दिए ।

प्रतियोगितामा १५ वर्ष मुनिका एकल पुरुष, १५ वर्षमुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, १९ वर्ष मुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष जोडी र १९ वर्ष मुनिका महिला जोडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियागितामा विजयीलाई २ लाख ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने सङ्घका जिल्ला अध्यक्ष कौरव बस्नेतले बताए ।

नेपालमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय उत्कृष्ट खेलाडीको सहभागितामा हुने सो आमन्त्रण प्रतियोगिता बिहान र साँझ गरी दुई चरणमा हुने बताइएको छ । २ सय दर्शक बस्न मिल्ने बाँसको प्याराफिट बनाउन लागिएको सङ्घले जनाएको छ ।