बेलबारीः एकता स्पोर्टस क्लब, लेटाङ–२ को आयोजनामा मङ्गलबारदेखि शुरु प्रथम बुधबारे गोल्डकपको उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।
उद्घाटन खेलमा २–० गोलले बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको १३ औंैं मिनेटमा बेलबारी फुटबल क्लबका भुवन बस्नेतले एक गोल गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा बेलबारीका महेन्द्र कार्कीले अर्काे गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बेलबारीका मौसम लिम्बू घोषित भए ।
विजेता बेलबारीले पुस १९ गते डिएफसी डाँगीहाट र बिर्तामोड युनाइटेडबीच हुने खेलको विजेतासँग पुस २१ गते प्रतिस्पर्धा गर्नेछ । बुधबारको खेल राष्ट्रिय जागृति क्लब, इटहरी र मोरङ फुटबल एकाडेमी, मङ्गलबारेबीच हुनेछ ।
प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी, राष्ट्रिय जागृति क्लब सुनसरी, डि.एफ.सी. डाँगीहाट मोरङ, बिर्तामोड फुटबल क्लब झापा, मङ्गलबारे फुटबल क्लब मोरङ, बेलबारी फुटबल क्लब मोरङ र एकता स्पोर्ट क्लब मोरङ सहभागी भएका छन ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कपसहित विजेताले रु १ लाख १ हजार र उपविजेताले रु ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्टतर्फ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी पुरस्कृत हुने आयोजक क्लबका बालकुमार श्रेष्ठले जानकारी दिए ।