काठमाडौंः क्रिकेटर सन्दिप लामिछाने एसिया कपमा सहभागी सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली भने गत मंगलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दिपलाई बिदाइ गरे ।

एसिया कप भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसंग समूह चरणको पहिलो खेल खेल्ने छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोश्रो खेल भदौ १८ गते भारत विरुद्ध श्रीलंकामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।

2

‘देशले सन्दिपमाथि जसरी भरोसा गरेको छ त्यो भरोसा सन्दिपबाट पूरा हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै सम्पूर्ण टिमलाई पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । नेपाली टिममा सन्दिप समावेश हुनु भनेको टिमले पूर्णता पाएको सन्देश जानु हो । सुखद परिणामका लागि सफलता मिलोस् भन्ने सम्पूर्ण टिमलाई सन्देश दिन र सन्दिपलाई शुभ यात्रा भन्न म यहाँ उपस्थित भएको हुँ । अल द वेस्ट ।’– बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले भने ।

‘सर्वप्रथम आफ्नो व्यस्त समयका बावजुद बिदाइ गर्न आइ दिनु भएकोमा सदस्य–सचिवज्यूलाई धन्यवाद दिन चाहन्छु । पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरेको छ । टिमले पाकिस्तानमा पनि अभ्यास गरिरहेको छ । मैले पनि यहाँ जति सक्दो अभ्यास गरिरहेको छु । हामी सबै तयार छौं । आशा छ एसिया कपमा राम्रो गर्ने छौं ।’ सन्दिपले भने– ‘एसिया कपमा खेल्न पाउनु सबै नेपालका लागि गर्वको कुरा हो । जित÷हार भन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुशीको पर्व जस्तै हो हाम्रा लागि ।’

3