सिन्धुपाल्चोकः आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द गर्‍यो । यसको मार आम मानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्व सन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रवारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

madhav-sapkota-1536x1152

ढिलै भए पनि नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीयवासी गङ्गा बज्राचार्य बताउछन ।

विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो । पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन् । भूकम्प र जुरेको पहिरोपछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ । तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्व अध्यक्ष विष्णु खत्री बताउछन ।


madhav-sapkota2-1536x1152

नाका खुलेकोमा खुसीयाली साट्न पुगेका सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटाले तातोपानी सम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने सङ्केत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताए । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते चीनको बेइजिङ जाँदै छन ।

नाकाबाट आवतजावत सुरु भएसँगै चीनतर्फका नागरिक पनि खुसी देखिएका छन् । चीनको सेबोकाकी पूर्व व्यवसायी नेमा रेन्जोमले अब चहलपहल बढ्ने र व्यापार राम्रो हुने विश्वास व्यक्त गरे। भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहीन बनाइएको थियो । अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन् । खासा बजारको पुनःनिर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन् । यसको पुनः निर्माणपछि मानवीय आवागमन पूर्ववत् अवस्थामा फर्कने विश्वास गरिएको छ ।