काठमाडौंः  गए राती हृदघातका कारण अस्पतालमा निधन भएका संविधानसभाका सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलि (बुधबार)सम्म एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका इलाम निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको शव पार्टी कार्यालय तर्फ लैजान अन्तीम तयारी थालिएको छ । 

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनको बाटोमै मृत्यु भईसकेको थियो । 

उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।